बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६ सय ७१ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
गत २०७७ मंसिर ३ गतेदेखी सञ्चालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पछि आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी.को प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १ सय ३३ जना महिलासहित ६ सय ७१ जना प्रहरी जवान दिक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ४ सय ८० जना, १ नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएका थिए । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सपथ ग्रहण गराएकि थिइन् ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उतमकुमार मगर लगायत विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए । दिक्षान्त समारोहका प्रमुख अतिथि तथा प्रहरी नायव महानिरीक्षक बिसीले कोभिड –१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख ब्यक्त गरे । उनले चुनौती तथा जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरे । उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामनासहितको निर्देशन समेत दिए ।
दिक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद दिदै समाज गतिशील भएको समस्याहरु पनि गतिशील नै हुने हाम्रो प्रयास पनि गतिशील हुनु पर्ने बताइन् । उनले अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहको बताउदै समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्न आग्रह गरिन् ।
नौ महिनाको आधारभूत तालिम अवधी समाप्त गरी दिक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनिहरुको आ–आफ्नो कार्य क्षेत्रमा खटाईने छ ।