झापा । 

हरेक बर्षमा आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ ।  जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने परम्परा छ ।

बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण आज लगाउने चलन छ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने परम्परा छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् । रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । 

यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातको नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ ।  आजको दिन ज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो ।  पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो)  गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यही गुंपुन्हिको दिन विभिन्न ९ थरी गेडागुडी पकाएर बनाइने क्वाति खाने भएकोले यसलाई क्वाति पुन्हि पनि भनिन्छ।