मोरङ । 

मोरङको विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुस्ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनीहरुलाई विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई ठग्ने आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनीहरुले विरामी तथा विरामीका आफन्तलाई भेटी यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन भन्ने जस्ता अफवाह फैलाई  झुक्याएर  आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने गरेको प्रहरीले जनाएको छ ।

सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समुहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको प्रहरीलाई खबर गर्नसमेत प्रहरीले आव्हान गरेको छ ।