झापा ।
नेपाल पत्रकार महासंघ झापाका सदस्य , तथा नेपाल टेलिभिजनका झापा सम्वाददाता इन्द्रजित मुखिया आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७८ (फोनिज अवार्ड) बाट पुरस्कृत हुने भएका छन् । उनलाई टेलिभिजनतर्फको पुरस्कार प्रदान गरिने भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) गतवर्ष कोरोना भाइरस महामारीका कारण रोकिएकोमा दुवै वर्षका लागि विभिन्न विधामा पत्रकार मुखियासहित ८ जना पत्रकार छनौट भएका हुन् ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड ) २०७७, आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) २०७८ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८ छनौट सम्बन्धी निर्णय प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) २०७७बाट छापातर्फ– आङदावा शेर्पा, गोरखापत्र शेर्पा भाषा पृष्ट संयोजक, काठमाडौं, रेडियोतर्फ मौसम रोकामगर, जलजला एफएम, रोल्पा, टेलिभिजनतर्फ कुमार यात्रु (तामाङ), इन्डिजिनियस टेलिभिजन, काठमाडौं र अनलाइनतर्फ राजकुमार दिक्पाल, स्वतन्त्र पत्रकार, पोर्चुगल पुरस्कृत हुने भएका छन् । त्यस्तै आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७८ को छापातर्फ तिलक पुन, स्वतन्त्र पत्रकार, कास्की, रेडियोतर्फ रचना श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं, टेलिभिजनतर्फ इन्द्रजीत मुखिया, झापा, अनलाइनतर्फ र भवानी बराल, झिल्को डटकम रहेका छन् ।
त्यसैगरी फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिकलाई संयुक्त रुपमा प्रदान गरिने जनाइएको छ । फोनिज अवार्डको राशी जनही २० हजार रहेको छ भने फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी २० हजार रहेको जनाइएको छ ।
फोनिज अवार्ड, फोनिज मातृभाषा पत्रकारिता सम्मान फोनिजको २२ औं स्थापना दिवसको अवसरमा आगामी साउन २७ गते काठमाडौंमा हुने कार्यक्रममा वितरण गरिनेछ छ भने सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरिने फोनिजका महासचिव मनोज घर्तीमगर विज्ञप्ती जारी गरी जनाएका छन् ।