लक्ष्मीपुर । 

छठ पर्वको तेस्रो तथा मुख्य दिन आइतवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाएका छन् । साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठ उत्सवका रुपमा यो पर्व झापासहित देशैभर भव्य रुपमा मनाएका हुन् । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिदै मनाइएको हो । 

छठ पर्बका अवसरमा झापाका विभिन्न जलाशयमा ब्रतालूले विधिपूर्वक सूर्यको उपासना गर्दै मनाएका छन् । सो अवसरमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको थियो । झापाको भद्रपुरस्थित नेपाल भारत सीमा भएर बग्ने मेची नदीसहित कनकाई माई, विरीङ, रतुवा, अन्धुवा, निन्दा सहित विभिन्न खोला तथा नदी र जलाशयमा छठ पर्वका अवसरमा भिन्नाभिन्नै कार्यक्रमको आयोजना गर्दै यो पर्व मनाइएको हो । छठ पर्बका अवसरमा विरीङ खोलामा औपचारिक कार्यक्रम नै गरेर छठ पर्व मनाइएको छ ।

छठ सेवा समिति बिर्तामोडको आयोजनामा विरीङ खोलामा आयोजित कार्यक्रमको उद्घाटन  प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका छन् । 

biring

समितिकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी,  नेपाली कांग्रेस बिर्तामोेड नगर सभापति कुलप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर सभापति दिपक दिनेश दाहाल, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

स्वागत कार्यक्रम संयोजक शंकर भगतले गरेकोे कार्यक्रमको सञ्चालन अर्थ संयोजक मनोज रौनियारले गरेका थिए ।  त्यस अवसरमा संस्थाका पूर्व अध्यक्ष राज गुप्ता र वयोवृद्धा कान्तीदेवी साहलाई सम्मान गरिएको थियो ।

बिर्तामोडको अन्धुवा खोलामा घाट निर्माण गर्न स्थान अभावका कारण केही बर्ष यता यहाँका व्रतालुहरु ६ किलोमिटर पश्चिममा रहेको विरीङ खोला पुग्ने गरेका छन् । अघिल्लो बर्ष झैं यस बर्ष पनि विरीङ खोलामा छठ पूजा व्यवस्थित र भव्य भएकोे छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष संगीता रौनियारले जानकारी दिइन् । छठ पूजाका लागि १९० पूजा घाट निर्माण भएको र एक घाट बराबर दुई जनाले पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष रौनियारले जानकारी दिइन् । समितिका सचिव जयकुमार झाका अनुसार पूजा सम्पन्न गर्न मूल आयोजक समिति संयोजक  शंकर भगत रहेका छन् भने विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । 

छठ पूजाका लागि घाटको शुल्क बुझाउन नसक्नेहरुका लागि निःशुल्क उपलब्ध गराएको प्रचारप्रसार ससमिति संयोजक सत्रुधनप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार रात्रीकालीन समयमा सांस्कृतिक कार्यक्रम तथा भजन गायन कार्यक्रम समेत हुनेछ । 

बीरिङ खोलामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड सानासहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला, नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, चेम्वर्स अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमलीलगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो भने भक्तजन र दर्शकहरुको उल्लेखीय उपस्थिति रहेको थियो । 

पूजास्थलको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापनका लागि प्रहरी प्रशासनसँग समन्वय गरिएको जनाइएको छ । कात्तिक शुक्ल चतुर्दशीबाट शुरु हुने छठ पूजा सोमवार समापन हुनेछ । ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत बसेर यो पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व समापन हुन्छ ।

यता अर्जुनधारा–६ पुलचोकस्थित अन्धुवा खोला, बिर्तामोड–३ स्थित बिर्ताबजार पश्चिम अन्धुवाको किनार र बिर्तामोड–१ स्थित धिमालवस्ती नजिकै अन्धुवा खोलामा पनि विभिन्न कार्यक्रम गरी यो पर्व मनाइएको छ ।  यसैगरी मेची, कनकाई माई, घाग्रा लगायतका नदी तथा जलाशयमा पनि विभिन्न कार्यक्रम गरी यो पर्व भव्य रुपमा मनाइँदैछ ।