धुलाबारी । 

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तर्गत धुलाबारी सेवा केन्द्रको सभा शुक्रबार धुलाबारी टाउन हलमा सम्पन्न भएको छ ।

सभामा धुलाबारी सेवा केन्द्रअन्तर्गत रहेका सदस्यहरूको सहभागिता रहेको थियो । सेवा केन्द्रमा हाल १ हजार २ सय ६८ सदस्य रहेका छन् । सभाले संस्थाको आगामी साधारण सभाका लागि धुलाबारी इकाइबाट १५ जना प्रतिनिधि छनोट गरेको छ ।

सभाको अध्यक्षता सहकारीका सञ्चालक समिति सदस्य जगतबहादुर तामाङले गरेका थिए । उनले सहकारीको समग्र अवस्था, गतिविधि तथा आगामी कार्यदिशाबारे जानकारी गराउँदै सदस्यहरूको सक्रिय सहभागिताले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा धुलाबारी इकाई उपसमिति सदस्य देवेन्द्र चापागाईंले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, अध्यक्षको प्रतिवेदन जगतबहादुर तामाङले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीका सल्लाहकार समिति सदस्य दिनेश शाक्यले शुभकामना मन्तव्य व्यक्त गरे । धुलाबारी इकाई उपसमिति संयोजक पदमलाल धिमाल लगायतको उपस्थिति रहेको थियो ।

धुलाबारी सेवा केन्द्र प्रमुख सुशीला हजाम राजवंशीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने इकाई समिति सदस्य रितु प्रधानले स्वागत मन्तव्य राखेकी थिइन् । सहकारीले आगामी असोज १६ गते बिर्तामोडमा माइन्युट प्रमाणीकरण सभा आयोजना गर्ने जनाएको छ । धुलाबारी सेवा केन्द्रबाट छनोट भएका १५ जना प्रतिनिधिले उक्त सभामा सहभागिता जनाउने छन् ।