भाङ्गबारी ।
नेपाली कांग्रेसको नियमित महधिवेशन पक्षधरले झापामा आजबाट वडा अधिवेशन शुरु गरेको छ । काग्रेसले अर्जुनधाराको ४ नम्बर वडाबाट अधिवेशन प्रारम्भ गरेको हो । यो वडा जिल्ला सचिव कृष्ण हुमागाईको क्रियासिल सदस्यता रहेको वडा पनि हो । यसअघि विशेष महाधिवेशन पक्षले असोज ३ गतेबाट वडा अधिवेशन प्ररम्भ गरेको थियो ।
वडा अधिवेशनको उदघाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेश संयोजक गोमा भट्टराईले नेपाली कांग्रेसको नीति, बिचार, सिद्धान्त र संस्कार बिपरित हाहा र हुहुको भरमा कोहि लक्ष्यमा पुग्न नसक्ने बताएका छन् । १५ औ नियमित महाधिवेशनको समय भैसकेको अवस्थामा पार्टीलाई विशेष र नियमितको कित्ताकाट गरेर बिभाजनको षडयन्त्र गर्नेहरुले आजको स्थितिमा पुर्याएको भनाइ राखे ।
नेपाली कांग्रेसका झापा जिल्ला सचिव कृष्ण हुमागाईले बीपी, गणेशमा र महेन्द्र नारायण निधिले बनाएको नेपाली कांग्रेस पार्टीमा उनीहरुको बिरासतलाई लत्याएर हिडन नसकिने भएर नै आफुहरु बीपीको बिचारमै संगठित भएर हिडेको बताए। पार्टीको आधिकारिकताको सवालमा सम्मानित अदालतमा पुनरावलोकनको मुद्दा बिचाराधिन अवस्थमा रहेकोले अदालको फैसला पछि मात्र एकताको महाधिवेशन गरौं भन्दा विशेष अधिवेशन पक्षले वडा अधिवेशन शुरु गरेपछी आफुहरुले पनि वडाअधिवेशन प्रारम्भ गरेको नियमित महाधिवेशन तयारी समितिका झापा जिल्ला संयोजक समेत रहेका हुमागाईले बताए।
सम्मानित अदालतले पार्टीको आधिकारिकता आफुहरुलाई नै दिने पूर्ण बिश्वास गर्दै क्रान्तिकारी नेता हुमागाईले अन्य पक्षको अधिवेशनमा भाग लिएर विभिन्न पदमा पुगेका साथीहरुलाई बधाई तथा शुभकामना दिए ।
कुनै बिषयमा फरकमत मत हुने बित्तिकै एउटा पक्षबाट गाली(गलौज गर्ने प्रवृत्ति नेता( कार्यकर्तामा देखिएको बताउदै हुमागाईले नियमित महाधिवेशन पक्षका साथीहरुले कसैलाई अपशब्द र गालीको भाषा प्रयोग गर्नु नहुने बताए । भोलीका दिनमा पार्टीभित्र एकता हुनसक्छ, त्यो बेला आफुले गाली गरेको साथीको अगाडि पर्दा आफैंलाई सरम हुने अवस्था नआवोस हुमागाईको भनाई थियो ।
तरुण दलका पुर्व केन्द्रिय सदस्य एवं महाधिवेशन तयारी समितिका जिल्ला सल्लाहकार मदन बुढाथोकीले अन्यायको अन्त्यका लागि न्यायको पक्षमा उभिएका तमाम साहसी नेता कार्यकर्ताको प्रशंसा गर्दै संगठन बिस्तारमा लाग्न आह्वान गरे ।
नेता बुढाथोकीले सत्य र न्यायको पक्षमा उभिनेकै अन्तिम बिजय हुने भनाई राख्दै अदालतको फैसलापछी आफुहरुलाई न्याय मिल्ने बताए । वडा अधिवेशन तयारी समितिका संयोजक एव संघर्षशिल आदिवासी नेता मदनकुमार दनुवारको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य प्रजातन्त्र सेनानी उमानाथ हुमागाईले राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रेस युनियनका सदस्य गणेश थापाले गरेका थिए ।
अर्जुनधारा ४ को वडा अधिवेशनपछी आज ३ बजे सम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका छ्न् । जिल्ला सचिव कृष्ण हुमागाईले पनि सोही वडाबाट क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका मतदान अधिकृत रणदेव हजामले जानकारी दिए।
दर्ता हुन आएका उम्मेदवारको नामावली प्रकाशन, दाबी( बिरोध, उम्मेदवारी फिर्ता, पुनः नामावली प्रकाशन लगायतको कार्य भोलि असोज १० गते बिहान १० बजेदेखी २ बजेसम्म हुने मतदान अधिकृत हजामले जानकारी दिए।
तोकिएको संख्या भन्दा बढी उम्मेदवारी परेकोमा सहमतिमा उम्मेदवारी फिर्ता भए भोलि नै नतिजा परिणाम घोषणा हुने सम्भावना रहेको सचिव हुमागाईले बताए। सहमती हुन नसके के हुन्छ ? भन्ने जिज्ञासामा हुमागाईले भने ‘त्यस्तो हुदैन होला, नत्र बिधान अनुसारको प्रक्रियामा जान्छ ।’

















