बिर्तामोड । 

नेपाली फिल्म  ‘मास्टर्नी’ को टोली झापामा चलचित्रको प्रमोशनका लागि झापा आइपुगेको छ । क्राइम थ्रिलर मार्फत एउटा फरक स्वाद र शैलीको कथा वस्तुमा आधारित चलचित्र मास्टर्नी भएको टोलीले दाबी गरेको छ । 

एउटी आमाले आइपर्ने घटनामा आफ्नी छोरीलाई जोगाउन कतिसम्म गर्न सक्छिन् ? कस्ता किसिमका साम, दाम, दण्ड, भेद अपनाएर अगाडि बढ्छिन् र प्रहरी अनुसन्धानले उनीहरूलाई समात्ला कि नसमात्ला ? यही रोमाञ्चकता, फरक कथा र प्रस्तुतिले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने नायिका प्रियङ्का कार्कीले बताइन् । 

प्रमोशनका क्रममा बिर्तामोड आइएकी नायिका कार्कीले पिके हबको अवलोकन गर्दै एकै स्थानमा सबै सामग्री पाइने भन्दै समयको बचत हुने बताइन्  । सोही क्रममा उनले पिके हबबाट आवश्यक सामग्री समेत खरिद गरेकी थिइन् ।  सुवेन्दु घोषको निर्देशन, सुरक्षा सिंह मल्होत्रा र सिमोश सुनुवारद्वय कार्यकारी निर्देशक र शान बस्न्यातको कथा रहेको  ‘मास्टर्नी’ मा  प्रियंका कार्की जोशीको दमदार प्रस्तुति देख्न पाइन्छ । साथै छोरी अंकिता र छोरीको साथी सिसिलियाको भूमिकामा सिम्रन खड्का र रक्षा थापाको अभिनय पनि उत्तिकै ध्यान तान्ने खालको रहेको छ ।

​विशेषगरी सिसिलियाको भूमिकामा रहेकी रक्षा थापा जो प्रमोद अग्रहरी र ऋचा शर्माको छोरीको भूमिकामा देखिएकी छिन्, उनको अभिनय यति प्रभावशाली छ कि यो पात्रमा उनलाई बाहेक अरू कसैलाई कल्पना गर्नै गाह्रो हुन्छ ।

​प्रमोद अग्रहरीको त कुरै नगरौँ– उनले हरेक पात्रलाई जीवन्त बनाउने क्षमता राखेका छन् । चलचित्रमा ऋचा शर्मा, आर्यन सिग्देल, अनुप विक्रम शाही, सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, दिनेश काफ्ले, देशना थापा मगर, शशांक बोहरालगायतका कलाकारहरूको प्रस्तुतिले कथालाई अझ बलियो बनाएको छ ।

कलाकार प्रियंका कार्की जोशी तथा लेखक शान बस्न्यातको सहकार्यमा तयार भएको ‘मास्टर्नी’को कथा संवादले नेपाली सिनेमामा एउटा नयाँ ढोका खोलेको आभास गराउँछ । मास्टर्नीको अर्को सुन्दर पक्ष भनेको नेपाली परिवेश र नेपाली स्वादलाई केन्द्रमा राखेर एउटा फरक किसिमको कथा भन्न खोज्नु हो । हरेक चलचित्र पूर्ण हुनुपर्छ भन्ने छैन, तर नयाँ विषय र फरक शैलीमा कथा भन्ने प्रयासलाई दर्शकले अवश्य सम्मान गर्नुपर्छ । नायकिा कार्कीको टोलीले पिके हब अवलोकनपछि हलमा गएर दर्शकहरुसँग पनि भेटघाट गरेकी थिइन् ।