भद्रपुर। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी बिपन्न तथा एकल महिला इन्द्रमाया खातीका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाका लागि तीन कोठे घर निर्माण गरी आज (सोमवार) घर निर्माण गरेको थियो । सोही घरको चाबी नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले इन्द्रमायालाई  हस्तान्तरण गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताए। कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिएपनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिए पनि झापा पार्टीले बिपन्नको घर निर्माण गरेको भन्दै उनले प्रशंसा गरे ।

झापामा पार्टीले निर्माण गरेको घरले राज्यलाई घचघच्याउँदै विपन्न नागरिकको आवासको अधिकारप्रति ध्यानाकर्षण गराउने काम गरेको उनको भनाइ छ । नागरिकका आधारभूत अधिकार तथा आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिदै घर निर्माण अभियानले मुलुकलाई समाजवादउन्मुख बनाउन दबाब सिर्जना गर्ने बताए । नेता आङ्बोले अभियानमा सहभागी सबैलाई धन्यवादसमेत दिएका छन् । 

कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले घर निर्माण कार्यले सांकेतिक रूपमा भएपनि झापाबाट समाजवादी अभियानलाई थप विस्तार गर्ने काम गरेको बताए। मानिसले बाँच्न पाउने अधिकारसँगै सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा रहेको सन्देश यस अभियानले दिएको उनको भनाई थियो ।

कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दातालाई सम्मानसमेत गरिएको छ । विभिन्न दाताबाट संकलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीनकोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिए । नेकपाले झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियान अघि बढाएको उनले बताए । दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको  उनले बताएका छन् । 

जिल्ला कमिटीबाट निर्णय गराएर घर निर्माण अभियानलाई थप व्यवस्थित गर्दै लगिने उनले जानकारी दिए । पार्टीभन्दा बाहिरबाट सहयोग संकलन नगर्ने नीतिअनुसार पार्टी सदस्यबाटै रकम संकलन गरी घर निर्माण अभियानलाई निरन्तरता दिइने दुलाल बताए। 

घर निर्माणका लागि बासुदेव दुलाल र तारा दुलालबाट २ लाख २५ हजार, ईश्वरी दाहालबाट १५ हजार बराबरको इटा,  पदम लिम्बू २० हजार, ओमसाई पाथिभरा हस्पिटलको फार्मेसी सञ्चालक हेमन्त बास्कोटा र तारा दुलाल र गायत्री बास्कोटा ३० हजार, डा. मुरलीप्रसाद साह ७ हजार, श्रीप्रसाद मिश्र २ हजार, सानुकुमार लामा २ हजार, चन्द्रा श्रेष्ठ ५ हजार,  बीपी भट्टराई ५ हजार, जोया सुब्बा १० हजार, राम पोखरेल ५ हजार, परशुराम शंकर एक हजार एकसय,  कृष्ण कौशल तीन हजार, नाजिर हुसेन ६० वटा टिसर्टलगायतले नगद तथा जिन्सी सहयोग गरेका थिए ।  कार्यक्रममा घर निर्माणमा सहयोग पुर्याउने सवैलाई सम्मानसमेत गरिएको थियो । 

घर निर्माण संयोजक बासु दुलालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता पदम लिम्बूले स्वागत गरेका थिए भने  कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सह–संयोजक बीपी भट्टराईले गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, डिल्लीराम घिमिरे ‘हिक्मत’, पार्टीका जिल्ला संयोजक खड्क तिम्सिना ‘पवन’ लगायतका नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । 

ृ