झापा ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति हिन्दू र मुस्लिम समुदायविच सुरु भएको विवाद साम्प्रदायिक द्वन्द्वका रूपमा चैत्रमासको डढेलोझै फैलिएर भएको हिंसात्मक झडपप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति झापाको गम्भीर ध्यानाकर्षण भएको छ । हालसम्म विभिन्न स्थानमा भएका साम्प्रदायिक घटनामा जनधनको ठूलो क्षतिप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्त घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सदियौंदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भातृत्व नै नेपाली समाजको असल पहिचान भएको र कुनै पनि धर्म वा समुदायका नाममा हिंसा भड्काउने, सामाजिक सद्भाव भत्काउने र जनधनमा क्षति पुऱ्याउने कार्य पूर्णतः अक्षम्य र निन्दनीय रहेको शुक्रवार नेकपा झापाद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा जिल्ला समिति झापा सरकार तथा आम नागरिक समक्ष पाँँच बुँदे अपिल गरेको छ ।
तत्काल वार्ता टोली गठन गरी सम्बन्धित पक्षसँग संवादको माध्यमबाट शान्ति, सद्भाव र भाइचारा कायम गर्न, घटनाको निष्पक्ष एवम् उच्चस्तरीय छानबिन गरी दोषीहरूलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन सरकारसँग जोडदार माग गरेको छ ।
यसैगरी घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूबाट सामाजिक तथा धार्मिक सदभाव भड्काउने भ्रामक र उत्तेजक सामग्रीहरू प्रस्तुत एवम् प्रकाशन नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल र कुनै पनि किसिमका भ्रामक अफवाहको पछि नलागी संयमता अपनाउन, धार्मिक(सामाजिक सद्भाव कायम राख्न र भातृत्व अभिवृद्धि गर्न आम नागरिकमा नेकपा झापाले हार्दिक अपिल गरेकोे छ । जारी बिज्ञप्तिमा पार्टीका झापा संयोजक खड्गबहादुर तिम्सिना (पवन) र इन्चार्ज पुष्प पोखरेलले हस्ताक्षर गरेका छन् ।



















