झापा ।
प्रतिनिधी सभाको बैठक यही साउन १४ गते सम्मका लागि स्थगित छ । बैठक लामो समय स्थगित हुदाँ झापा २ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य ईन्दिरा राना आफ्नो क्षेत्रका जनता भेटघाट गरिहेकी छिन् ।
बैठक नियमित रूपमा सञ्चालन भैरहेका बेला जनताका मुद्धा सदनवाटै उठाइरहनु भएकी सांसद राना संसद् बैठक नहुँदा अधिकांश समय जनतामाझ बिताउँदै स्थानीयका गुनासा सुन्ने, समस्या बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामलाई निरन्तरता दिएकी छन् ।
निर्वाचन क्षेत्रका विभिन्न गाउँ, बस्ती तथा बजार क्षेत्रमा पुगेर रानाले नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सुरक्षा तथा सार्वजनिक सेवासँग सम्बन्धित समस्याबारे स्थानीयवासीका भनाइ सुन्दै ती विषयलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरिरहेकी छन् । जनतासँगको भेटघाटमा उनले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरूलाई स्मरण गर्दै जनप्रतिनिधिको दायित्व चुनाव जितेसँगै समाप्त नहुने, बरु जनताको विश्वासलाई व्यवहारमा उतार्नु नै आफ्नो पहिलो जिम्मेवारी रहेको बताएकी छन् ।
सांसद रानाले जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका विभिन्न सरकारी कार्यालयहरूको समेत अनुगमन गरिरहेकी छन् । सो क्रममा उनले सेवा प्रवाहको अवस्था, कर्मचारीको उपस्थितिदेखि नागरिकले पाउने सेवाको गुणस्तरबारे जानकारी लिँदै आवश्यक सुधारका लागि सम्बन्धित अधिकारीसँग छलफल र निर्देशन समेत दिइरहेकी छन् । सार्वजनिक सेवा प्रभावकारी बनाउन उनको सक्रियताले स्थानीय नागरिकमा सकारात्मक सन्देश दिएको छ । गएको आम निर्वाचनमा अत्याधिक मतका साथ झापा २ वाट निर्वाचित सांसद रानाले निर्वाचनपछि पनि आफ्नो क्षेत्रसँगको सम्बन्धलाई निरन्तर कायम राख्ने गरि जनतामाझ नै ब्यस्त देखिदाँ सो क्षेत्रका सर्वसाधारणहरु खुसी देखिन्छन् ।
संसद् बैठक नहुँदा काठमाडौंमा बस्नुभन्दा जनतामाझ पुगेर उनीहरूका समस्या बुझ्नु नै आफ्नो प्राथमिकता भएको उनको कार्यशैलीबाट देखिएको स्थानीयको भनाइ छ । स्थानीयवासीका अनुसार सांसद रानाको नियमित क्षेत्र भ्रमण, जनतासँगको प्रत्यक्ष संवाद तथा सरकारी निकायको अनुगमनले जनप्रतिनिधिप्रतिको विश्वास अझ बलियो बनाएको छ । संसद भित्र नीति निर्माणसँगै संसद् बाहिर जनताको सुख–दुःखमा साथ दिने उनको सक्रिय भूमिकाले लिएर अहिले चौतर्फी प्रशंसा भैरहेको छ ।


















