बिर्तामोड ।

 नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले नेपाली कांग्रेस केन्द्रीय समितिले १८–३५ उमेर समूहका युवा र महिलालाई प्राथमिकतामा राखेर पार्टीभित्र अवसर दिने ऐतिहासिक निर्णय गरेको बताएकी छिन् ।

नेपाल महिला संघ झापाको आयोजनामा विर्तामोडमा आज (आइतवार)  सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमलाई  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै केन्द्रीय सदस्य शिवाकोटीले जनप्रतिनिधि तथा पार्टीको जुनसुकै पदमा उठ्न र जिम्मेवारी लिन महिलाले हिम्मत गर्नुपर्ने र आत्मक्षमता बढाउनुपर्नेमा जोड दिइन्।

पार्टीमा निरन्तर संघर्ष र सक्रियताले मात्रै अवसर प्राप्त हुने बताउँदै उहाँले पार्टीको शक्ति जरामा हुने हुँदा नेतृत्वको चाकडी छाडेर क्रियाशिल सदस्य र जनताको मन र मत जित्ने कार्यमा सक्रिय हुन आग्रह गरिन् । पार्टीको नीति नै जनताको मन र मत जित्नेलाई नेतृत्व प्रदान गर्ने रहेको बताउँदै उनले जनमुखी कार्यमा क्रियाशिल हुन आग्रह गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले क्रियाशिल सदस्यता वितरण गर्दा झापामा महिलाहरुको उपस्थिति सन्तोषजनक रहेको बताउँदै अहिलेसम्म लैंगिक आधारमा पार्टीले दिने अवसरमा विभेद नगरेको स्पष्ट पारे । पार्टी एवं भातृ तथा शुभेच्छुक संघ–संगठनलाई सक्रिय बनाउन आग्रह गर्दै उनले आशावादी भएर अवसर खोज्न पनि अपिल गरे ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य एवं जरा अभियानका लागि महिला संघका केन्द्रीय प्रतिनिधि बविता लिङदमले लोकतन्त्रको प्राण निर्वाचन रहेको बताउँदै महिला संघको निर्वाचनका विषयमा छिट्टै निर्णय लिने बताइन् । युवा र महिलाका लागि पार्टीले लिएको निर्णय स्वागतयोग्य रहेको बताउँदै परिवर्तित कांग्रेसको नीति, योजना र सन्देश ग्रामीण तहसम्म पु¥याउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले यही साउन १० गतेदेखि बस्ने महिला संघ केन्द्रीय समितिको बैठकले संघको निर्वाचनसम्बन्धी निर्णय लिने बताउँदै आशावादी भएर अवसर पर्खन आग्रह गरिन् ।

नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेपाली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, नेपाल महिला संघ केन्द्रीय सदस्य राधा कार्की, महासमिति सदस्य शर्मिला अधिकारी, महाधिवेशन प्रतिनिधि रमा लिम्बू, क्षेत्रीय अध्यक्षहरु रचना घिमिरे, उर्मिला गौतम, गोमा बुढाथोकी, यसोदा उप्रेती, सिता बास्कोटा, लिला कटुवाल लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव गिता ओडारी खरेलले गरेकी थिइन् ।