विराटनगर ।
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ ।
उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















