बिर्तामोड । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताको भरोसा फर्काउने अभियानमा सक्रिय हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विगतमा सत्ता केन्द्रित राजनीतिक अभ्यास, अस्थिर गठबन्धन र सीमित नेताको सत्तामोहका कारण पार्टीप्रति जनतामा गहिरो असन्तुष्टि पैदा भएको स्वीकार गर्दै अब कांग्रेसको पहिलो दायित्व जनताको विश्वास पुन ः प्राप्त गर्नु रहेको बताएका हुन् । 

उनले सरकार गठनको अंकगणितभन्दा जनताको मन जित्ने राजनीति नै कांग्रेसको भावी मार्ग हुनुपर्नेमा जोड दिए  । बिर्तामोडमा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ ऊर्जा, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिसहित जनतामाझ फर्किनुपर्ने आवश्यकता औंल्याए ।

सभापति थापाले विगतमा कांग्रेसले स्पष्ट राजनीतिक उद्देश्यबिना पटक–पटक गठबन्धन गर्ने र फेरि सहजै त्यही गठबन्धन तोड्ने अभ्यासले जनतामा पार्टीप्रति वितृष्णा बढाएको बताए । सत्ता साझेदारी, भागबण्डा र केही नेताको प्रधानमन्त्री बन्ने आकांक्षाले कांग्रेसको मूल राजनीतिक चरित्र कमजोर बनेको उनको विश्लेषण थियो । 

उनले जनताको मन जित्न नसके कुनै पनि राजनीतिक सफलता दिगो नहुने उल्लेख गर्दै कांग्रेसले अब संगठनलाई जनतासँग पुनः जोड्नुपर्ने बताए । सभापति थापाले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै लोकतान्त्रिक आन्दोलन र संसदीय व्यवस्थाको संस्थागत विकासमा कांग्रेसको योगदान अतुलनीय रहेको बताए । उनले पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौं कार्यकर्ताको साझा संस्था भएको उल्लेख गर्दै सभापतिको पद अधिकारभन्दा जिम्मेवारी भएको धारणा राखे ।

सभापति थापाले भूमिहीन सुकुम्बासीको समस्या निर्वाचनसँग जोडेर हेर्न नहुने बताए । उनीहरूले कांग्रेसलाई मत दिन्छन् वा दिँदैनन् भन्नेभन्दा उनीहरूको जीवनसँग जोडिएको समस्या समाधान गर्नु राज्यको दायित्व र कांग्रेसको राजनीतिक जिम्मेवारी भएको उनले बताए । सभापति थापाले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन आफू प्रतिबद्ध रहेको बताए । अधिवेशन सञ्चालनसँग सम्बन्धित समिति कार्यकर्ताले विश्वास गरेका व्यक्तिको नेतृत्वमा बनाउन आफू तयार रहेको उल्लेख गर्दै उनले विगतको जस्तो विवाद दोहोरिन नदिने स्पष्ट पारे ।

पार्टीमा नयाँ र क्षमतावान नेतृत्वको उदयलाई सकारात्मक रूपमा व्याख्या गर्दै सभापति थापाले कांग्रेस पुनः जनविश्वासको केन्द्र बन्ने विश्वास व्यक्त गरे । उनले घर–घर पुगेर कांग्रेसबाट टाढिएका कार्यकर्ता र शुभेच्छुकको मन जोड्ने अभियान सञ्चालन गरिने बताए ।  कार्यक्रममा वोल्दै पार्टीका  उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए । उनले पार्टीमा पुस्तान्तरण भइसकेको उल्लेख गर्दै अहिले ५० वर्षमुनिको नेतृत्वले कांग्रेसको बागडोर सम्हालिरहेको बताए । सरकारले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याएकोप्रति असन्तुष्टि व्यक्त गर्दै शर्माले यस्तो निर्णयले सुशासन र नैतिक राजनीतिको मर्मविपरीत सन्देश जाने बताए ।

उपसभापति शर्माले झापाका चिया उद्योगमा देखिएको संकट समाधानका लागि सरकारले तत्काल वार्ताको पहल गर्नुपर्ने बताए। भूमिहीन सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि कायम रहेको जंगली हात्तीको आतंकप्रति पनि सरकारको ध्यानाकर्षण गराए । विगतमा कांग्रेसको पहलमा निर्माण गरिएको विद्युतीय तारबारबाहेक प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उनले स्थानीयको जीवन र सुरक्षालाई केन्द्रमा राखेर नयाँ योजना अघि बढाउन आग्रह गरे ।

कार्यक्रमभरि कांग्रेस नेताहरूले संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय र स्थानीय समस्याको समाधानलाई आगामी राजनीतिक कार्यदिशा बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमले कांग्रेसभित्र आगामी महाधिवेशनको तयारीसँगै जनविश्वास पुनर्निर्माण, संगठन सुदृढीकरण र स्थानीय मुद्दालाई राष्ट्रिय बहससँग जोड्ने रणनीतिलाई प्राथमिकतामा राखेको सन्देश दिएको नेताहरूको भनाइ थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे,पार्टीका सहमहामन्त्री डिला संग्रौला, नेपाली कांग्रेसकी नेतृ मन्दरा चिमरिया, पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा लगायतले बोलेका थिए ।  पार्टीका झापा जिल्ला सचिव नवीन विमलीले सञ्चालन गरेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, मन्त्री तथा कांग्रेसका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।