बिर्तामोड ।
नेपाली फिल्म ‘मालती मंगले’ को प्रचारप्रसारका लागि चलचित्र निर्माण टोलीसहित कलाकार झापा आएका छन् । गायक रामकृष्ण ढकालको निर्माण रहेको फिल्म ‘मालती मंगले’ को प्रदर्शन आगामी वैशाख २५ गते हुने भएको छ । गायक रामकृष्ण ढकालसहित कलाकारको टोलीले आज (मंगलबार) फिल्मकै प्रचारप्रसारका क्रममा बिर्तामोड आफ्नो साँगीतिक प्रस्तुती दिदै छन् । म्यूजिकल टूर २०२६ का लागि बिर्तामोडबाट आफ्नो म्यूजिकल टोलीसहित बिर्तामोडमा प्रस्तुती दिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विजय बराल र वर्षा राउतको मुख्य भुमिका रहेको फिल्मले एउटा अग्र्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको बताइएको छ । फिल्मको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्म रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यसको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरूङ र स्वीकृति बस्नेत छन्।
फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरूङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहेको छ। छायांकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रंग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको छ।
गोर्खा फाउण्डेशन नेपालको आयोजना निःशूल्क खुल्ला साँगीतिक कार्यक्रम बिर्तामोडको वन स्टप मल परिसरमा हुने गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष बीरु दर्नालले जानकारी दिए । उक्त कार्यक्रममा गायक ढकाल, रचना रीमाल, वर्षा राउत, बिजय बराल, म्याक्सम गौडेल, जीवन पराजुली, अयुप पौडेललगायतको टिम रहने बताइएको छ । वैशाख २५ गतेदेखि एकैसाथ देशभर चलचित्र प्रदर्शनमा आउने भएको छ ।


















