काठमाडौँ । 

बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्।

पूर्वनिर्धारित समय १२ः३४ मा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसपटकको शपथ समारोह फरक देखियो। समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई पौडेलले आज बिहान संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिटमा जित पारेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहपछि मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री शाहले रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँ राखेका छन् । २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाले आफूसँग ३ मन्त्रालय राखेका हुन् ।

रास्वपाका सुधन गुरुङ गृह, स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, गणेश पौडेल संस्कृति, दीपक साह श्रम, सस्मित पोखरेल शिक्षा, बिक्रम तिमिल्सिना सूचना, प्रतिभा रावल सामान्य प्रशासन, विराजभक्त श्रेष्ठ ऊर्जा, गीता चौधरी कृषि, सोविता गौतम कानुन, सिता बादी महिला तथा बालबालिका र सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

नवनिर्वाचित सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु हुने जनाइएको छ।

बैठकका लागि पदभार ग्रहण सकिएका मन्त्रीहरू धमाधम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका थिए। नवनियुक्त सबै मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गरी सिंहदरबार पुगेर पदभार सम्हालेका छन्।

सरकारले अघि बढाउने केही महत्त्वपूर्ण कामबारे मन्त्रिपरिषद्को निर्णय आजै लिने बताइएको छ। यद्यपि, अधिकांश मन्त्रीहरूले पदभार ग्रहणसँगै कुनै पहिलो निर्णय भने अझै लिएका छैनन्।