झापा ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट सांसदमा निर्वाचित भएकाहरूले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनमा २७४ सांसदले शपथ लिएका हुन् । निर्वाचित मध्येका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय सांसद अर्जुननरसिंह केसीले २७४ सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतिपक्षीको सङ्ख्या कम भए पनि केही नहुने भन्दै विधिको शासनका लागि सहयोग गर्न तयार रहेको बताए । कांग्रेस र एमालेका सांसदहरूले धेरै उत्साहपूर्ण तरिकाले प्रतिक्रिया दिएको देखिएन । फाट्टफुट्ट रूपमा प्रतिक्रिया दिए पनि उनीहरूको अनुहारमा उत्साह देखिँदैनथ्यो ।
पद तथा गोपनीयताको शपथ ग्रहण हलमा पनि ‘रो’ छुट्ट्याएको हेर्दा पनि पुराना दल खुम्चिएको स्पष्ट देखिन्थ्यो । सभा हलको आधाभन्दा ठुलो हिस्सा रास्वपा सांसदहरू देखिन्थे । कांग्रेस, एमाले र नेकपाका सांसदहरूलाई एउटै ‘रो’ मा बस्ने व्यवस्था संघीय संसद् सचिवालयले गरेको थियो ।
तीनै दललाई प्रतिपक्षी दल भन्दै एउटा ‘रो’ सचिवालयले उपलब्ध गराएको थियो । त्यो रोको अगाडिका सिटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ राष्ट्रिय पोसाक सँगसँगै बसेका थिए । सबैभन्दा अगाडिको लहरमा कांग्रेसका दुई सांसद बसेका थिए । निवर्तमान सहमहामन्त्रीसमेत रहेका भीष्मराज आङ्देम्बे र मोहन आचार्य अगाडिको ‘रो’ मा बसेका थिए । एउटा रो मा राप्रपाका ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पहिलो सिटमा सँगसँगै बसेका थिए ।
रास्वपाको ‘रो’ मा सबैभन्दा पहिलो लहरमा सभापति रवि लामिछाने, त्यसपछि वरिष्ठ नेता बालेन्द्र शाह बसेका थिए । शाह शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित रहेकाले उनीसँग तस्बिर खिचाउन रास्वपाका सांसदहरू तछाडमछाड गरेका देखिन्थे । लामिछाने र शाहसँगै रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले बसेका थिए । रास्वपाले तीन रो ओगटेको देखियो । अर्को ‘रो’ को नेतृत्व महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए ।


















