शनिश्चरे । 

देश विकासको पहिलो फड्को भनेकै बाटो हो । बाटोघाटोको राम्रो प्रवन्ध भएपछि मात्र हरेक क्षेत्रमा विकासले गति लिन्छ । यसै भनाई आत्मसाथ गरेर हाल स्थानीय क्षेत्रमा बाटोलाई विशेष प्राथमिकतामा राखेर विकासको गति अघि वढिरहेको छ । जवसम्म उचित बाटो हुँदैन त्यस क्षेत्रका जनताको पनि विकास हुँदैन भन्ने मान्यता अनुसार मन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरुले गुणस्तरीय बाटोलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन् । 

अहिले प्रत्येक नगरपालिका र गाउँपालिकामा हरेक बाटो कालोपत्रे हुँदै गएका छन् । जसले स्थानीय स्तरमा किसानले उत्पादन गरेका बस्तुहरु सहज रुपमा शहर बजारमा पाइन्छ । बाटोको पहुँच पुगेसँगै स्थानीयमा रोजगारी र बजारको पहुँच पुगेसँगै स्थानीय उत्साहित हुँदै गएका छन् । 

झापाको लक्ष्मीपुर, पाण्डवपुर हुँदै अर्जुनधारा जलेश्वरधामसम्म करिव ६ किलो मिटर सडक कालोपत्रे भएसँगै त्यहाँका स्थानीय उत्साहित भएका छन् । विगठित प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गरेको प्रतिबद्धता अनुसार ६.२ किलो मिटर ‘रिङ्ग रोड’ कालोपत्रे सम्पन्न भएको छ । घिमिरेको पहलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ८ करोड ३७ लाख लागतमा ‘रिङग रोड’ कालोपत्रे भएको अर्जुनधारा नगरपालिकाकी नगर उप–प्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन् । 

आर्थिक बर्ष २०८०÷८१ र २०८१÷०८२ मा बजार क्षेत्रमा ७ मिटर चौडाई र अन्य क्षेत्रमा ५ मिटर चौडाईको सडक निर्माण सम्पन्न भएको उप–मेयर पराजुलीले बताइन् । बिगठित प्रतिनिधि सभा सभामुख घिमिरेको पहल र मेहनतले नै सो रिङ्ग रोड कालोपत्रे सम्पन्न भएको उनको भनाई छ । 

स्थानीय देवेन्द्रकुमार थापाका अनुसार सडक कालोपत्रे हुनुअघि धुलोले बाटो आसपास हिड्न नसक्ने अवस्था थियो । बाटो कालोपत्रे भएसँगै यातायात आवत–जावतमा सहज भएको र सडक आसपासमा रहेका पसलहरु साथै सो क्षेत्रका जग्गाको मूल्यमासमेत केही बृद्धि भएको उनले बताए । 

थापाले सडक कालोपत्रे हुनुअघि खाल्टाखुल्टी र साघुरो यसअघि बनेको कालोपत्रे कच्चा सडक भएको बताए  । ‘यो कालोपत्रे गुणस्तरीय छ । यो बाटो बनेसँगै दोहोरो आवत–जावतमा सुबिधा भएको छ । सडक कालोपत्रेसँगै शनिश्चरे जान सहज भएको छ ।’ स्थानीय थापाले भने । 

पहिलो बाटो सानो गोरेटो थियो, हिलो हुन्थ्यो, धुलो उडेर सडक आसपास हिडडुल गर्न र घरमा बस्न सक्ने अवस्था नभएको स्थानीय भीमा भट्टराईले बताइन् । उनका अनुसार हाल सडक कालोपत्रे भएसँगै अर्जुनधारा जलेश्वरधाम हुँदै बुधवारेबाट पहाडी जिल्ला इलाम जान छोटोदुरीसँगै सहज भएको छ । 

‘तर, सडकको आसपास रहेको नाला बाटो भन्दा हाइट भएकाले समस्या छ’ भट्टराईले भनिन् ‘नालामा पानी बगेर जान सकेन नाला बाटो भन्दा अलिकति डाउन भएको भए पानी बग्ने थियो र धेरै राम््रो हुने थियो ।’  कालोपत्रे नहुँदा धुलो उडेर समस्या हुन्थ्यो तर अहिले धेरै राम्रो भएको उनले बताइन् ।