- दीपक उप्रेती
हल्दीवारी ।
‘संसारका उत्पीडित वर्ग तथा समुदायहरू एक हौं’ तथा ‘मार्क्सवाद–लेनिनवाद–जिन्दाबाद’ भन्ने मूल नाराका साथ नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं.३ को आयोजनामा हल्दीबारी–२ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। महान जनयुद्ध दिवसको पारेर आज (शुक्रवार) रक्तदान कार्यक्रम गरिएको हो ।
चुनावी अभियानसँगै महान जनयुद्ध दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रम मानवताको सेवामा समर्पित रहेको आयोजकले जनाएको छ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने सन्देश प्रवाह गर्दै सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं.३ का उम्मेदवार डिल्ली घिमिरे ‘हिक्मत’को विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा स्वयंसेवी रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा रक्तदान गर्ने सम्पूर्ण दाताहरूलाई सम्मान स्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। उपस्थित उम्मेदवार घिमिरेले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पार्टी सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले चुनावी अभियानलाई मानवीय सेवासँग जोड्दै सकारात्मक सन्देश दिएको छ । जनयुद्धमा पनि देशको लागि रगत दिएर अहिलेको व्यवस्था ल्याएकोमा अहिले पनि रगत दान गरेर मानवीय सेवामा समर्पित भएको संदेश दिएको आयोजकले बताएका छन् ।


















