मेचीनगर।
पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने प्रतिस्पर्धा हुने भएको छ । कोशी लाते आर्ट च्याम्पियनसिप ‘मास्टर अफ बेसिक’ माघ २९ गते विहीवार धुलाबारीस्थित टाउन हलमा हुने भएको हो । कफीका पारखी तथा किसानलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको आयोजकका धिरज दाहालले जानकारी दिए । उनका अनुसार कफी पिउनुको फाइदा तथा खेती प्रवद्र्धनका निमित्त प्रतियोगितात्मक प्रतिस्पर्धा गराइने छ ।
उक्त प्रतियोगितामा कोशी प्रदेशभरबाट ३५ जना सहभागी हुनेछन् । यसअघि भिडियो कन्टेन्टमार्फत ८० जना प्रतिस्पर्धी छानिएका थिए । त्यसमध्ये फाइनल राउण्डमा ३५ जना छनोट भएका दाहालले जानकारी दिए ।
धुलाबारीमा क्याफे सञ्चालन गर्दै आएका दाहालले कफीका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । ‘पूर्वमा यस्तोखाले कार्यक्रम भएको थिएन,’ उनले भने, ‘पछिल्लो समय कफी पिउने पारखी बढ्दै गएका छन् । यसको फाइदा र महत्व बुझाउन खोजेका हौँ ।’
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । पहिलो हुनेले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र चौथो हुनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको जर्ज गर्नका लागि राष्ट्रियस्तरका कफी विज्ञ कुशलमान श्रेष्ठ आउनेछन् । सोही अवसरमा कफीका विभिन्न ब्राण्डहरुको स्टलसमेत राखिने बताइएको छ ।
झापा लगायत देशभर कफी पिउने पारखीहरु बढ्दै गएका छन् । कफी खेती पनि विभिन्न जिल्लाहरुमा विस्तार भइरहेका छन् । यद्यपि कफी विदेशबाट निर्यात गर्नु परिरहेको छ । यहाँ उत्पादित कफीले बजार धान्न नसकिरहेको बेला यसको महत्व बुझाउन र खेती प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
झापामा कफी एशोसिएसन बनाएर प्रोत्साहन गर्ने लक्ष्य राखिएको कफी विज्ञसमेत रहेका दाहालले बताए । धुलाबारी जेसीज सन् २०२६ का कोषाध्यक्ष दाहालले कफी बेच्ने मात्र नभएर सम्भावनाको खोजी पनि गरिने बताए ।
एक दिने उक्त कार्यक्रम सम्पन्न गर्नका लागि करिब ३ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रमका लागि गोमेन्द्र कलेज, आदर्श स्कुल अफ म्यानेजमेन्ट तथा जिल्ला बाहिरका क्याफे ब्रान्डहरुले स्पोन्सर गरेका छन् ।


















