मेचीनगर ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचार प्रसारका लागि माघ २८ गते बुधबार झापा आउने भएका छन् । उज्यालो नेपाल पार्टीका नेता तथा झापा क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार नरेशकुमार लावतीका अनुसार घिसिङले झापाका विभिन्न स्थानहरुमा कार्यकर्ता तथा मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
हवाईमार्फत भद्रपुर आगमनपछि अध्यक्ष घिसिङले झापाका विभिन्न स्थानमा कोणसभा तथा कार्यकर्ता एवं नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमअनुसार माघ २८ गते बिहान ९ बजे भद्रपुरमा पहिलो कोणसभा हुनेछ ।
त्यसपछि ११ः३० बजे काँकरभिट्टा, १२ः३० बजे धुलाबारी, दिउँसो २ बजे बिर्तामोड, ३ः३० बजे दुधे चोक र साँझ ४ः३० बजे दमकमा कोणसभा तथा भेटघाट कार्यक्रम आयोजना गरिएको उम्मेदवार लावतीले जानकारी दिए ।
पार्टीले यस चुनावी यात्रामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्ने जनाइएको छ । झापाका सबै क्षेत्रमा उज्यालो नेपाल पार्टीका उम्मेदवारहरु रहेकाले पनि अध्यक्ष घिसिङको आगमनले थप सहयोग पुग्ने आँकलन गरिएको छ ।


















