बिर्तामोड । 

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली फिल्म ‘कुमारी’ को टोली झापा आएको छ । आगामी माघ २३ गतेदेखि देशैभर तथा विदेशमा पनि प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘कुमारी’ को कलाकार र निर्माण टोली आज (शनिवार) झापा आएको हो । 

चलचित्र कुमारीको प्रमोशनमा निस्किएको अभिनेता, अभिनेत्री, निर्मातासहित कलाकार र निर्माण टोलीलाई झापाको बिर्तामोड–३ मा रहेको युरो किड्स बिर्तामोड स्कुलमा भब्य स्वागत गरिएको थियो । 

अभिनेता अभिषेक  खड्काका बुवा बद्री खड्का, हजुरआमा, काका–काकी, दाजुभाई, दिदिबिहिनी, साथीभाई, स्कुलका प्रिन्सिपल, नानीबाबुहरुले उनलाई भव्य रुपमा स्वागत गरेका थिए ।  चलचित्रमा पनि भविश्य बनाउन सकिन्छ भन्ने उदेश्यका साथ निर्माण गरिएको कुमारी चलचित्रमा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भुमिकामा छन् । 

अभिनेता अभिषेक  खड्काको गृह जिल्ला झापास्थित बिर्तामोडमा चलचित्र निर्माण टोली र कलाकारहरुलाई स्वागत गरिएको हो । सानैदेखि कलाकारितामा चासो राख्ने अभिषेक खड्काको फिल्म कुमारीले वर्तमान युवाहरुको मन जित्नेमा दुईमत नरहेको निर्माता महेन्द्र अधिकारीले बताए । उनले कलाकारितामा भविश्य छैन भनेर पछिल्लो समय बिदेशिने युवाको कमी नभएको बताउँदै चलचित्र कुमारीले फिल्म क्षेत्रमा पनि भविश्य छ भन्ने आशा जगाउने बताए । 

चलचित्रका अभिनेता अभिषेकले आफुले सानैदेखि कलाकारितामा चासो राखेको र आज अभिनेताका रुपमा आफ्नो गृह जिल्ला झापास्थित बिर्तामोड आउँदा एकदमै खुसी महसुस गरेको बताए । चलचित्रकी अभिनेत्री आकृति राजभण्डारीले सवैले चलचित्र हेरिदिएर कलाकारहरुको हौसला वढाइदिन आग्रह गरिन् ।