झापा । 

कोशी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत दलित समूहतर्फ नेकपा एमालेका उम्मेदवार सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। उनले अत्यधिक मतभार प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू मतदाता रहेको निर्वाचनमा सूर्य चिन्हमा प्रदेशसभाका ६८ जना र स्थानीय तहका २०१ जना जनप्रतिनिधिले मतदान गरेका थिए। यस आधारमा पोर्तेलले ७ हजार ४२३ मतभार प्राप्त गरेका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै पोर्तेलले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकोमा नेकपा एमालेप्रति आभार व्यक्त गरे। साथै निर्वाचनमा समर्थन गरेकोमा नेपाली कांग्रेसप्रति विशेष धन्यवाद ज्ञापन गरे। उनले राष्ट्रिय सभामा पुगेर दलित समुदायका मुद्दा तथा समग्र प्रदेशको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी कोशी प्रदेशबाट राष्ट्रिय सभामा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

मेचेका प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपाने पराजित भइन्। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाताका रूपमा रहेको निर्वाचनमा मेचेले सुरुदेखि नै अग्रता लिएकी थिइन्।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत विभिन्न प्रदेशमा मतगणना सम्पन्न भइसकेको छ भने केही प्रदेशमा परिणाम सार्वजनिक हुने क्रम जारी छ।