झापा l
बिघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन्।
घिमिरेसँगै उनका समर्थकहरुसहित अर्जुनधारा नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उनी नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेर उम्मेद्वारी दर्ता गरेका छन् ।
घिमिरेले मनोनयन दर्तापछि पत्रकारहरूसँग संक्षिप्त संवाद गर्दै भने, “म फेरि जनता माझ गएर काम गर्ने अवसरको लागि उम्मेदवारी दिएकै हुँ। यो क्षेत्रका विकासका योजनाहरूलाई निरन्तरता दिने मेरो मुख्य उद्देश्य हुनेछ।” उनले आगामी निर्वाचनमा पारदर्शिता र शान्तिपूर्ण प्रतिस्पर्धा कायम गर्न सबै दलसँग सहकार्यको आग्रह पनि गरे।
स्थानीय नेताहरूले घिमिरेको उम्मेदवारीलाई चुनावी प्रतिस्पर्धामा थप रोचक बनाउने अनुमान लगाएका छन्।
झापा २ मा विघठित प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वारी दिएकी छिन् ।
यता नेपली कांग्रेसका तर्फबाट पूर्व मन्त्री सरिता प्रसाई पनि यही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छिन् । जसका कारण यो निर्वाचन क्षेत्रमा चुनावी प्रतिष्पर्धा रोकच हुने निश्चित छ ।


















