झापा ।
झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तिबाट हातहतियार फेला परेको छ । सोही स्थानका डेकबहादुर थापाको घरभित्र केही हातहतियार लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
आज (शुक्रवार) बिहान १० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहरा भित्र खानतलासी गरेको थियो । खानतलासीका क्रममा बटको भागमा १३२०४४७ नम्बर लेखिएको सर्ट गनको बटको भाग एक थान बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त हातहतियार गत २४ गते भएको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको अभिलेखबाट देखिएको छ ।
सो हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी सुरक्षित साथ इप्रका कार्यालय दमकमा ल्याएर राखिएको र डेकबहादुर थापाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















