झापा । 

झापाको भद्रपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आज (शनिवार) बिहान १०ः३० बजे भद्रपुर–५ स्थित नरसिंह बगानबाट भद्रपुर–६ टेलिभिट्टाका २५ बर्षीय नारायण राजबंशी र भद्रपुर–५ बसपार्कबाट ईलाम सुर्योदय नगरपालिका–१२ घर भई हाल बिर्तामोड–१० बस्ने ३३ बर्षीय अनिल प्रधान लागूऔषधसहित पक्राउ परेका हुन् ।  

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री राजबंशीलाई शंका लागेर चेकजाँच गर्दा  उनले लगाएको बाँया खुट्टाको चपलमा  प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक १ ग्राम ६१० मिलिग्राम सहित  नियन्त्रणमा लिइएको थियो । उनलाई वप्रका भद्रपुरमा ल्याएर  थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको बताइएको छ । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंका लागेर प्रधानलाई नियन्त्रणमा लिई  चेकजाँच गर्दा उनले मलद्धारा भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २ ग्राम १०० मिलिग्राम फेला परेको थियो । उनलाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।