बिर्तामोड ।
राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनलिष्ट भएका स्मायन बजगाईलाई न्यूटनस् एजुकेशन एकेडेमी सम्मान गरेको छ । बाल्यकालमै गायनका क्षेत्रमा अद्वितीय क्षमता प्रस्तुत गर्दै राष्ट्रिय स्तरको चर्चित गायन रियालिटी सो मा फाइनलिस्ट भएका बजगाईलाई विद्यालयले विशेष सम्मान गरेको हो ।
स्मायन न्यूटनस् एजुकेशन एकेडेमीका कक्षा ८ का विद्यार्थी हुन् । उनलाई विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा शिक्षक, विद्यार्थीसहित अभिभावकको समेत उपस्थितिमा उनलाई सम्मान प्रदान गरिएको थियो । सम्मान कार्यक्रममाा राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शोमा आफ्नो अद्वितीय सांगीतिक क्षमता प्रस्तुत गरी विद्यालय र जिल्लाको गौरव बढाएको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा स्मायनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुँमागाईले बताए ।
सो अवसरमा विद्यालयका इंचार्ज नोयल परेराले स्मायन बजगाईं हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको उज्जवल नक्षत्र भएको प्रतिक्रिया दिए । निरन्तर अभ्यास, आत्मविश्वास र मेहनतकै कारण उनले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनको सफलता अरु विद्यार्थीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, शिक्षकहरूले स्मायनले छोटो उमेरमै देखाएको लगनशीलता र अनुशासनले उनलाई अझै ठूला उपलब्धि हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । सम्मान ग्रहण गर्दै स्मायन बजगाईंले आफ्ना गुरुजन, विद्यालय, परिवार र साथीहरूलाई धन्यवाद दिँदै अझै कडा परिश्रम गर्ने र भविष्यमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
यस किसिमको सम्मानले विद्यार्थीहरूमा आत्मविश्वास थप्ने मात्र नभई अरु प्रतिभावान बालबालिकालाई पनि आफ्नो क्षमताको पहिचान गर्न प्रेरित गर्ने विद्यालयकी शिक्षक पवित्रा पौडेलले बताइन् ।


















