बिर्तामोड । 

विश्वभर छरिएर रहेका नेपालीहरुलाई लक्षित गर्दै आयोजना गरिएको ‘मेरो भ्वाइस युनिभर्स’ सिजन–२ को फाइनलमा प्रवेश गर्ने प्रतियोगिहरु अहिले भोट माग्न व्यस्त छन् । भारतको सिक्किमबाट फाइनलिष्टमा परेका गायन विधामा दीपराज राई र  नृत्य प्रतियोगितामा अमृता राईलाई जिताउन भोट माग्दै सोमवार सिक्किमको टोली बिर्तामोड आएको हो ।

‘मेरो भ्वाइस युनिभर्स’ मा दीपराज राई र  ‘मेरो डान्स युनिभर्स’ की अमृता राईलाई भोट गर्न टोलीले सवै नेपाली अपिल गरिएको छ । उनीहरुलाई भोट गर्न  बिर्तामोडमा विशेष प्रस्तुतिसमेत दिइएको छ ।

भारत सिक्किमका दुवै प्रतिभा दोस्रो सिजनको फाइनलमा प्रवेश गरेका छन् । सो कार्यक्रममा सिक्किमका चर्चित कलाकारहरू पदम तामाङ, रक लामा, इन्स्टा मेन, सिक्किम गर्ल, दिपेश ट्वान्टीलगायतले आफ्नो प्रस्तुति राख्दै दुवै कलाकारको पक्षमा भोट अपिलगरेका थिए ।

गत सिजनमा मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमकै प्रितम राईले जितेका थिए भने मेरो डान्स युनिभर्सकी विजेता थाइल्यान्डकी खुसी कार्की बनेकी थिइन् । सो प्रतियोगितामा सिक्किमकी मिग्मा डी लेप्चा सेकेन्ड रनरअप बनेकी थिइन् ।

संसारभर रहेका नेपाली समुदायबीच गीत, संगीत तथा नृत्यका माध्यमबाट आपसी सद्भाव कायम राख्ने र नेपाली भाषा–संस्कृति जीवित राख्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय गायन तथा नृत्य प्रतियोगिताको आयोजना हुँदै आएको छ । कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् ।