झापा ।
झापा शिवसताक्षी नगरपालिका–५ सालडाँगीबाट गएराति ११ः२० बजेको समयमा दुई जनालाई लागू औषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २९ को राजेन्द्रकुमार ताजपुरिया र शिवसताक्षी–४ का २१ को बर्षिय अजय ताजपुरिया रहेका छन् ।
राजेन्द्रकुमार ताजपुरियाले लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोली उनको घर गएर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा राजेन्द्रकुमार ताजपुरियाको कोठामा बस्ने अजय ताजपुरिया समेतले बेचबिखन गर्नलाई प्लाष्टिकमा पोका पार्दै गरेको अबस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्लास्टिक बाहेक ८ ग्राम ब्राउन सुगर फेला परेकोले बरामद गरि उक्त लागू औषधसहित दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याएर रादिएको छ । उक्त बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















