झापा ।
पछिल्लो समय झापामा लागूऔषध कारोवारी वढ्दै गएका छन् । दैनिक जसो प्रहरीले लागूऔषध प्रयोगकर्ता कारोवारीलाई पक्राउ गरिरहे पनि क्रमश वढ्ने क्रम वढ्दै गएको छ । यसैगरी केहीदिन यता ठूलो मात्रमा लागूऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट साइकलमार्फत लागुऔषध ब्राउन सुगर नेपाल ल्याउने प्रयासमा दुई व्यक्ति झापामा नियन्त्रणमा परेका छन्। दुवै घटनामा झापा प्रहरीले सूचना प्राप्त गरी शंका उत्पन्न भएपछि जाँच गर्दा लागूऔषध बरामद गरेको हो।
झापा गाउँपालिका–१ सुडुखुट्टुमा असार २५ गते अपराह्न ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले भारत बिहार राज्य किसनगंज जिल्ला सिंगीमारी पञ्चायत वडा नं–५ निवासी ६० वर्षीय गबरी साहलाई रोकि जाँच गरेको थियो।
साहले लगाएको ट्रयाकसुटको बाँया गोजीमा लुकाइएको अवस्थामा प्लास्टिक सहित ९८.४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक बाहेक उक्त पदार्थको तौल ९३ः३० ग्राम रहेको छ।
त्यसको केही घण्टापछि गएराति १२ः३० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीमा सूचना पाकर जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण इकाई काँकरभिट्टाबाट खटिएको टोलीले साइकलमा सवार एक युवकलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
झापा कनकाई नगरपालिका–०१ दुर्गापुर निवासी ३७ वर्षीय पवन ऋषिदेब चढेको साइकलको ट्युव भित्र लुकाइएको लागूऔषध ब्राउन सुगर प्लास्टिक बाहेक १६७ ग्राम० बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान कार्य अघि बढाइएको छ। प्रहरीले सीमा क्षेत्रबाट लागुऔषध तस्करीमा संलग्नलाई नियन्त्रणमा लिन निगरानी थप कडाइ गरिएको जानकारी दिएको छ।