झापा । 

झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । अर्जुनधारा–४ भाङवारी घर भई हाल अर्जुनधारा– ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा राईको सामूहिक  कुटाईबाट मृत्यु भएको हो । 

उनलाई गएराति ११ः३० बजेको भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् । उनको साथमा सोही ठाउँ बस्ने बर्ष ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदास गएको बताइएको छ।

घाइतेलाई शंकर अस्पताल शनिश्चरे लगेर सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मृतकको शव सोही अस्पतालमा नै रहेको छ ।

प्रहरीले कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ । आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको जनाइएको छ ।