बिर्तामोड  ।

 मिस्टर एण्ड मिस रोयल झापा सिजन–२ को उपाधि भद्रपुर–८ की प्रेन्सी ओली र बिर्तामोड–५ का पेशल निरौलाले जितेका छन् भने सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपाधि श्रेयन्स चौधरी र एन्जल लिङ्देनले हात पारेका छन् ।

झापाको बिर्तामोडमा पीसीएस प्रोडक्सन इन्टरटेन्टमेन्टको आयोजना भएको यी दुई प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका हुन् । गत असार ७ गते भएको प्रतियोगिताको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी पीसीएस प्रोडक्सनका प्रबन्ध निर्देशक चेतनसिंह बस्नेतले जानकारी दिए ।

बालबालिका तथा युवायुवतीको प्रतिभा विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगितामा विजेताहरुले उपाधिसँगै तीन लाख रुपैयाँ बराबरको उपहार पाउने बस्नेतले बताए । साथै, उनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुन गेटवे टिकट पनि उपलब्ध गराइने उनले बताए । 

मिस्टर एण्ड मिस रोयल झापा सिजन–२ को उपविजेता दिपिका माझी र साम्राज्ञी थपलिया, भ्यूवर च्वाइ दिपिका माझी, मल्टिमिडिया अवार्ड आइसिका चाम्लिङ राई, अर्गनाइजर च्वाइस दिजेश थापा मगर र ब्राण्ड एम्बेसेडर सुहाना थापा  भएका छन् ।  त्यस्तै, सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ को उपविजेता अन्सु लिम्बू, प्रनिशा बराल, भ्यूवर च्वाइ श्रेयान्स चौधरी, मल्टिमिडिया अवार्ड युमा पोखरेल, अर्गनाइजर च्वाइस श्रेयस्क खनाल र ब्राण्ड एम्बेसेडर एमिई श्रेष्ठ  भएका छन् । 

सामाजिक तथा राजनीतिक व्यक्तित्व सुधीर शिवाकोटीको नेतृत्वमा अर्शु महर्जन, विवेस राई र गीत बस्नेतको निर्णायक मण्डलले विजेता प्रतिभा छनोट गरेको हो । विजयी प्रतियोगीहरुले ४० दिने प्रशिक्षण दिइएको थियो । विजेताहरुले प्रतियोगितामा सहभागी भएपछि धेरै कुरा सिक्नुका साथै आत्मविश्वास बढेको बताएका छन् ।

प्रतियोगितामा ७ देखि १४ वर्ष र १४ र २१ वर्ष गरी दुई उमेर समूहमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । झापाका तीन स्थानमा भएको अडिसनमा एक सय जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विसं २०७७ मा स्थापना भएको पीसीएस प्रोडक्सनले हालसम्म आठ वटा सौन्दर्य प्रतियोगिता र थुप्रै सहकार्यात्मक कार्यक्रमहरू गरेको संस्थाका सिईओ पुकार कार्कीले बताए । संस्थाले प्राप्त गरेको लाभको केही हिस्सा सामाजिक कार्यमा पनि लगानी गर्दै आएको  उनले बताए । 

निकट भविष्यमा पीसीएस प्रोडक्सनले मिस्टर एण्ड मिस पूर्वाञ्चल आइकन–२०२५ र पूर्वाञ्चल लिटर राइजिङ स्टार–२०२५ आयोजना गर्न लागेको सिईओ कार्कीले बताएका छन् ।