बिर्तामोड ।
झापाको मेचीनगर नगरपालिका–९ का दीपक शिवाकोटी अहिले नेपाली कथानक चलचित्र ‘परिवर्तन’ निर्माण गरिरहेका छन् । एग्रीकल्चरसहित बिभिन्न संघसंस्थामा आवद्ध शिवाकोटीले करिव चार करोड रुपैयाँको एकल लगानीमा चलचित्र ‘परिवर्तन’ निर्माण शुरु गरेका हुन् ।
उनले कोभीड–१९ अर्थात विश्व कोरोना महामारीको फुर्सदको समयमा करिव डेढ महिनामा चलचित्र परिवर्तनको कथा लेखेका थिए । हाल चलचित्रको छायङ्कन भइरहेको छ । ४५ दिनसम्ममा पूरा हुने चलचित्रको छायङ्कन मोरङमा सम्पन्नपछि अहिले झापा र इलामका धार्मिक तथा पर्यटकीय साथै रमणीय स्थलमा छायङ्कन भइरहेको निर्माता शिवाकोटीले बताए । शान्वी एग्रीकल्चर रिसर्च प्रा.लि का प्रोपाराइटरसमेत रहेका युवा व्यवसायी निर्माता शिवाकोटी विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध रहँदै व्यावसाय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
कोशी प्रदेशमा पनि राम्रो चलचित्र निर्माण गर्न सकन्छ भन्ने संन्देश दिन साथै कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले ठूलै लगानी गरेर चलचित्र ‘परिवर्तन’ निर्माण शुरु गरेको उनको भनाई छ ।
आगामी मंसीरसम्ममा चलचित्रलाई प्रदर्शनमा ल्याउने लक्ष्य रहेको चलचित्रका निर्माता शिवाकोटीले जानकारी दिए । चलचित्रको निर्देशन चर्चीत कलाकार तथा निर्देशक विजय केरुङले गरिरहेका छन् । सामाजिक विषय वस्तु उपर इमान्दार प्रहरी अफिसरको कथालाई मुख्य विषय वस्तुका रुपमा प्रस्तुत गर्न लागेको उनले बताएका छन् ।
‘चलचित्रमा कानून प्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबीचको सङ्घर्ष छ’ निर्माता शिवाकोटीले भने ‘चलचित्रको कथावस्तु नेपालको सिमा सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो सञ्जाल र गरीब, दुःखी तथा असहाय जनताको पीडादायी बाध्यतालाई पर्दामा उतार्न खोजिकएको छ ।’
निर्माता शिवाकोटीले चलचित्रमा समग्र देशको अवस्था, जनताले भोगिरहेका समस्या, कालोबजारी, सीमा क्षेत्रमा हुने अतिक्रमण, चोरी पैठारी, सुकुम्वासीका समस्या, किसानका समस्या र प्रहरी प्रशासन तथा प्रहरीको इमान्दारितालाई मुख्य कथावस्तुमा समेटिएको उनले बताए । निर्मातासहित परिवर्तनको टिम चलचित्र सफल हुनेमा ढुक्क छ ।
चलचित्रको मुख्य भूमिकामा सुशील श्रेष्ठ र अञ्जना बराइली अभिनय रहेको छ भने हेमन्त बुढाथोकी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, याम खरेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।
दिब्यासी फिल्मस प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र समाज परिवर्तनका निम्ति व्यवसायबाट मात्र तृप्त नभएका शिवाकोटीले सामाजिक मुद्दालाई सशक्त रुपमा चलचित्र मार्फत पनि उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माण गर्न लागेको बताएका छन् ।
चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । चलचित्रलाई छायंकन शिव ढकालले गर्दैछन् भने सम्पादन सिने मुभीका बिन्देप्रसाह साहु, द्वन्द्व निर्देशन श्री श्रेष्ठ, नृत्य निर्देशन कमल राईले गरेका छन् । चलचित्रमा सहायक निर्देशनका रुपमा नवराज शर्मा छन् भने प्रोडक्सन हेड अरुण रेग्मी रहने छन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्दैछन् । चलचित्रमा उत्तमजंग लिम्बुले संगीत दिएका छन् । मेचीनगर–१३ स्थित चारआलीको पाउँ पाथीभरामा चलचित्र ‘परिवर्तन’को शुभ मुहुर्त गरिएको थियो ।