झापा ।
झापाको दमक नगरपालिका–९ चिया बगानको नौ घरे टोलबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । नौ घरे टोलका अन्दाजी ३५ बर्षिय भगवान किन्डो उराउको घरमा मानिसहरु भेला भएर लागूऔषधको खरिद बिक्री गर्दैछन् भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले आव (सोमवार) भगवान किन्डो उराउको घरमा पुग्दा जिल्ला झापा दमक नगरपालिका–९ स्थित नौ घरका २४ बर्षिय अजय राई, सोही स्थान सुर्यदय टोलका २३ बर्षिय रोहित गौतम, माछा खाडीका ३१ बर्षिय राजु सुनुवार र भगवान किन्डो उराउ गरी ४ जनालाई फेला पारेको पारेको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिएर शरिर तथा घर खान तलासी गर्दा अजय राईको साथबाट सेतो प्लाष्टिकको टुक्राहरुमा स–साना पोकोहरु पारेको अवस्थामा जम्मा ८७ वटा पोका फेला परेको र उक्त पोका खोली हेर्दा लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ रहेकाले उपस्थित मानिसहरुको रोहबरमा उक्त लागूऔषध जस्तो देखिने पदार्थ नाप तौल गर्दा प्लाष्टिक बाहेक ४ ग्राम ८८ मिलि ग्राम भएको प्रहरीले जनाएको छ ।
उक्त बरामद भएको लागूऔषधसहित ४ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।