झापा ।
नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय विताएका पूर्वको उर्वर भूमि झापाले उव्जाएका कलाकार तथा निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ लाई निर्देशन गर्ने भएका छन् ।

‘माझी दाइ’, ‘आमाको काख’ लगायत दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङले यस चलचित्रमा इमानदार प्रहरी अफिसरको कथालाई मुख्य विषय बस्तुका रुपमा पस्किने भएका छन्।
कानुन प्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्व बिचको सङ्घर्षमा बुनिएको यस चलचित्रले नेपालको सिमा सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो संञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी वाध्यतालाई पर्दा मार्फत उतारिने भएको छ।
पछिल्लो समय अलि व्यस्त र चर्चा कमाईरहेका कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ यस चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन्। ‘आउटल दफा २१९’बाट एक्सन नायक रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठको लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी गरेका छन् ।
त्यस्तै, ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरेकी अञ्जना बराइलीको अर्को प्रतीक्षित चलचित्र ‘महाभोज’ पनि चाँडै रिलिज हुँदैछ । यस चलचित्रमा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, याम खरेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
दिब्यासी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका मुख्य निर्मातामा पुर्वी झापाका जुझारु युवा व्यवशायी दीपक सिवाकोटी रहेका छन्।समाज परिवर्तनका निम्ति व्यवशायबाट मात्र तृप्त नभएका शिवाकोटीले सामाजिक मुद्दालाई सशक्त रुपमा चलचित्रमार्फत पनि उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माणमा हात हालेको जानकारी गराएका छन्। कोरोनाले विश्व आक्रान्त भएको बेला फुर्सदको समयमा सिवाकोटीले नै चलचित्रको कथालाई धेरै मेहेनतका साथ लेखेको बताए।
चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । अधिकारीले यसअघि ‘सिलसिला’, ‘दशगजा’, ‘रावायण’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता दर्जनौँ चर्चित चलचित्रहरू लेखेका थिए । यो चलचित्रले समाजमा देखिने कर्तव्य र भावना बिचको द्वन्द्व, एक प्रहरीको इमानदारी र मानवीय मूल्यहरूको टकराबलाई समेट्ने अधिकारीले बताए ।
चलचित्रलाई छायंकन शिव ढकालले गर्दैछन भने सम्पादन भूपेन्द्र अधिकारी,द्वन्द्व निर्देशन श्री श्रेष्ठ, नृत्य निर्देशन कमल राई,पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्दैछन्।सहायक निर्देशन नवराज शर्माले गर्ने भएका छन भने प्रोडक्सन हेड अरुण रेग्मी रहने छन्।
यस चलचित्रको छायाङ्कन आगामी हप्ताबाट सुदुर पूर्वका रमणीय स्थानहरुमा हुने भएको छ। यसै वर्षभित्र चलचित्रलाई प्रदर्शनमा ल्याउने लक्ष्य रहेको जानकारी चलचित्रका निर्माता दिपक शिवाकोटीले जनाएका छन्।