शिवसताक्षी । 

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति नेकपा (माओवादी केन्द्र)शिवसताक्षी नगरको गम्भीर ध्यानाकर्षण भएको छ । 

देशको सर्वांङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता  भएको यसका लागि विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकहरूका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेशागत सुरक्षा अनिवार्य शर्त भएको आज (मंगलबार) पार्टीले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको हो । 

पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भएपनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म संघीयताको मर्म अनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन सक्दैन । निजामति, शिक्षा, स्वास्थ्य, प्रहरीलगायतका ऐनहरू जारी भई कार्यान्वयन हुनुपर्दछ । यसलाई सर्वाधिक महत्व दिएर हाम्रो पार्टी नेतृत्वको सरकारले कैयन जटिलताबीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा दर्ता गरेको विदितै छ ।’

 ‘त्यस क्रममा नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ । सरकार गठन भएको १० महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई वेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्याष्पद छ । यसबाट सरकार शिक्षकहरूको मागका बारेमा उदासीन र गैर जिम्मेवार भएको पुष्टि हुन्छ ।’ बिज्ञप्तीमा उल्लेख छ । 

 माओवादी केन्द्रका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पार्टीले जोडदार माग गरेको छ । यस बिषयलाई प्राथमिकतामा राखि विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकारसहित सम्बद्ध सवै पक्षसँग हार्दिक पार्टीले अपिल गरेको छ । साथै, शिक्षकहरूको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन समेत बिज्ञप्ती मार्फत आह्वान  गरिएको छ ।