बिर्तामोड । 

बिर्तामोडको दुई वटै क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै निर्वाचित भएको छ । कन्काई आदर्श क्याम्पसमा नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङ ४७५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी अखिल (क्रान्तिकारी) का नवीन पौडेलले ८७ मत पाएका छन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।

सचिवमा नेविसंघका मनिष कोईराला ४७६ मतसहित बिजयी हुँदा अखिल क्रान्तिकारीका अनिल अधिकारीले मात्र ६४ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघकी मेघा चबेगु लिम्बूले ३३५ मतसहित जित हासिल गरिरहँदा अखिल क्रान्तिकारीकी जानकी भट्टराईले ५२ र अनेरास्ववियूका किशोर खत्रीले १३६ मत प्राप्त गरेका छन् । कन्काई क्याम्पसमा जम्मा मत संख्या १५०२ रहेकोमा मात्र ५८० मत खसेको थियो ।

यसैगरी बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसमा पनि नेविसंघको प्यानल निर्वाचित भएको छ । नेविसंघका श्रीजित ढुंगाना ३४० मतसहित सभापतिमा बिजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारी र राप्रबिस गठबन्धनका प्रज्वल कडरियाले १०९ र अनेरास्ववियूका आकाश थापाले १९७ मत ल्याएका छन् ।

सचिवमा नेविसंघका पवन अधिकारी २६१ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनमा सन्जु विशंखेले १२७ र अनेरास्ववियूका शितल खनालले २५२ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा नेविसंघकी एरिना थापा २५६ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका मचिन्द्र राईले १७१ र अनेरास्ववियूकी प्रबिना वाग्लेले १९८ मत हासिल गरेका छन् ।  १०९३ मत संख्या रहेकोमा मात्र ६७० मत खसेको थियो ।