बिर्तामोड । 

फुटबलर एञ्जिलाको जीवनीमा बनेको नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गतेदेखि सिनेमा हलहरुमा प्रदर्शनमा आउने भएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा फिल्ममा रहेको निर्देशक मिलन चाम्सले  आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । 

फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी छन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेको चाम्सले बताए । चलचित्रका निर्देशक चाम्सले एञ्जिलाको विगतका छायाँबाट भविष्यका लागि गरेको संघर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको जिकिर गरे ।

चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।निर्माता श्रेष्ठले केही समयमै काठमाडौँमा एञ्जिलाको घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । फिल्म एकदमै मेहनत गरेर बनाइएको हुँदा पूर्वेली चेली एञ्जिलाबारे बुझ्न फिल्म हेर्नैपर्ने श्रेष्ठको भनाइ छ ।

चलचित्र नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिज भइसकेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ, कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बू र राजेश बगडिया सह–निर्माता हुन् ।