बिर्तामोड  । 

विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को सिजन–२ को पूर्वको अडिसनको तयारीका लागि अध्यक्ष डिल्लीराम अधिकारी बिर्तामोड आएका छन् ।  पूर्वका लागि बिर्तामोडमा आगामी चैत २ र ३ गते हुने अडिसनलाई भब्य र सब्य बनाउन तयारीका लागि अध्यक्ष अधिकारी बिर्तामोड आएका हुन् । 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुँदै आएको रियालिटी सिजन २ को पूर्व अडिशनका तयारीका लागि लागि अध्यक्ष अधिकारी बिर्तामोड  आएका छन् । 

मानविय सेवामा समर्पित इन्ट्रा–नेशनल वेलफेयरले नेपाली भाषा र कला–संगीतलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष अधिकारीले बताएका छन् । उनले रियालिटी शो को माध्यमबाट विश्वभर रहेका कलाकारितामा लागेकालाई आवद्ध गराएर रियालीटी शो गर्ने गरेको जानकारी दिए । अधिकारी सिलिगुडीमा आगामी मार्च ८ र ९ तारिख अडिसन, त्यसको हप्ताहिनपचि मुम्बईमा हुने अडिसनको तयारी अवस्था बुझेर शनिवार बिर्तामोड आएका ह्न् । 

अध्यक्ष अधिकारीले शनिवार साँझ बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो सिजनको भन्दा यस सिजनमा युके, कतार, जापना, हङकङ र मुम्बईमा अडिसन थपिएको बताए ।  शो को उदेश्य पैसा कमाउनु नभएको बताउँदै विश्वभर रहेका नेपालीहरुका लागि आफ्नो देशको धर्मसंस्कृतिको जर्गेना गर्ने रहेको उनले बताए । परोपकारी भावनाका साथ बिदेशमा रहेर पनि आफ्नो देशको रितिरिवाज, धर्म संस्कृति नभुलुन भन्ने उदेश्यले शो को आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए । शो फाइनल आगामी अगष्टमा हुने अध्यक्ष अधिकारीले बताएका छन् । टप ८ अघिसम्म जर्जले छनौट गर्ने र टप ८ पछि भने भोटिङ राउण्ड शुरु हुने अध्यक्ष अधिकारीको भनाईछ । 

पूर्व अडिसनका कार्यक्रम संयोजक रुपक ओडारीले कोशी प्रदेशका सबै जिल्लाबाट आवेदन आइरहेको बताएका छन् ।  नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने सवै नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शो आयोजना हुन लागेको उनले बताए । बिर्तामोडमा हुने अडिसनमा २ हजार वढी प्रतियोगीको सहभागीता हुने संयोजक ओडारीले बताए । ओडारीका अनुसार फागुन १६ र १७ गते पोखरामा अडिसन भइसकेको छ । त्यस्तै नेपालगञ्जमा फागुन २० र २१ र काठमाडौंमा चैत १६ र १७ गते अडिसन हुनेछ । 

मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जर्ज) को भूमिकामा रहनेछन् । मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहने पूर्वाञ्चल संयोजक रुपक ओडारीले बताएका छन् । 

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा तथा नेपालका बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ । सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट www.intrafoundations.org बाट आवेदन दिन सक्ने छन् । अडिसनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिनेछ । 

दुवै शोका विजेताहरुलाई एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ । मेरो डान्स यूनिभर्स अन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स पनि प्रतियोगितात्मक हो । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् ।‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २  नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजेपछि प्रशारण हुनेछ । सन् २०२३ मा यी दुबै रियालिटी शोको पहिलो सिजन भइसकेको छ ।