विराटनगर ।
सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार को २०प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको ईटहरी उप–महानगरपालिका–४ का २७ बर्षीय सुरजकुमार ठाकुरलाई कोशी गाउँपालिका–१ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरी धरान उप–नगरपालिका–३ का ३१ बर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन् ।
त्यस्तै राती गोप्य सुचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका–१ का २० बर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।