बिर्तामोड ।
युवा पुस्ताका चर्चित ¥यापर लाहुरे र गायिका साहिमा श्रेष्ठले जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’लाई थप रौनक प्रदान गर्ने भएका छन् । जसका लागि माघ ११ गते उनीहरु बिर्तामोडमा प्रस्तुतिका लागि आउने भएका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने र ११ गतेका लागि लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए । युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो ।
विगतका वर्षमा पनि संघले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो । तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको छ । महोत्सव उद्घाटन सत्रका दिन महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् ।
माघ ९ गते मिस्टर डि उर्गेन दोङको प्रस्तुति रहेको थियो । गायक तथा संगीतकार दोङको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ । फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको यो गीत युटुवमा ट्रेण्डिङमा नै रह्यो ।
बिर्तामोड महोत्सवमा सहभागी कलाकार मध्ये माघ १० गते (आज विहीवार) पूर्ण राई र दाजु भाईको प्रस्तुति रहने सिम्खडाको भनाई छ । उनी पनि युवा माझ लोकप्रिय कलाकार हुन् । बिर्तामोड महोत्सवमा सहभागी हुने कलाकारको नामावली सार्वजनिक गर्दै सिम्खडाले भने – कलाकारका आफ्ना फ्यानले सुलभ मूल्य तिरेर उनीहरुको प्रस्तुति सहजै हेर्न पाउने भएका छन् ।
महोत्सवमा माघ १२ गते समिर श्रेष्ठ, १३ गते श्रीगो र दगेन भीम विष्ट, १४ गते भाइवर साइमन र अनु चौधरीको प्रस्तुति रहने छ । माघ १५ गते वेनिषा पौडेल, १६ गते सुसान्त घिमिरे र आशिष अविरल , १७ गते रकेटको प्रस्तुति रहने छ भने १८ गते छेवाङ लामा र द क्रिएटर्स व्याण्ड तथा १९ गते स्वप्न सुमनको प्रस्तुति रहने छ ।
माघ ११ गते प्रस्तुति दिने लाहुरे ¥यापर हुन् । उनका लाखौं फ्यान छन् । उनी युवा पुस्तामा अति लोकप्रिय छन् ।जसका कराण बिर्तामोड महोत्सवमा उनको प्रस्तुति राखिएको बताइएको छ ।
सन् १९९० को दशकमा अमेरिकाबाट सुरूवात भएको मानिने हिप–अप संगीत अन्तर्गतको रचनात्मक र रोमाञ्चक विधा ‘¥याप ब्याटल’ अहिले नेपाली युवामाझ पनि लोकप्रिय हुँदैछ । हिपअप म्युजिकको लोकप्रियताले नेपाललाई पनि छोयो । केहीपछि हिप–अप म्युजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरूले हिप–अप शैली अर्थात ¥याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो । झापावासीले समेत चाहानालाई मध्यनजर गर्दै महोत्सवमा हालुरेको उपस्थिति गराइएको बताइन्छ । त्यस्तै साहिमाको पनि माग उत्तिकै छ । उनी व्यस्त कलाकारको सूचिमा छिन् । मेला महोत्सवमा उनको प्रस्तुति हजारौं दर्शकले हेर्ने गरेका छन् ।