बिर्तामोड । 

बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक समेटिएको नेपाली चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले बिहीवार  झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको छ ।

चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताएका छन् ।  चलचित्रलाई अझ व्यापक बनाएर समाजमा कलंकको रुपमा रहेको बोक्सी प्रथा अन्त्यका लागि चलचित्र निर्माण र प्रदर्शनीमा जोड दिइएको निर्माता मोहनराज पौडेलले बताए । उनले चलचित्रबाट हुने आम्दानी बोक्सी प्रथा अन्त्यकै लागि खर्च गरिने  बताएका छन् । 

चलचित्रका मुख्य कलाकार प्रकाश घिमिरेले सामाजिक रुपान्तरणको अभियानका रुपमा चलचित्रमा अभियन गरेको बताए।अग्निदहनमा एक रुपैयाँ पारिश्रमिक लिएर मुख्य भूमिका निर्वाह गरेकी कलाकार प्रमिला तुलाचनले बोक्सी जस्तो कुप्रथामा अन्त्य गर्न चलचित्रमा अभिनय गरेको बताइन् ।  चलचत्रि ‘अग्निदहन’ मोहनराज पौडेल मुख्य संरक्षक रहेको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको ब्यानमा बनेको हो ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’ ९० मिनेटको छ । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

लोकमणि पौडेलको कथा, पटकथा र सम्वाद रहेको चलचित्रमा कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाँकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ ।

चलचित्र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च तहका व्यक्तित्वहरुले हेरिसकेका छन् भने चलचित्रलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ । चलचित्र पत्रकार संघ झापाको संयोजनमा भएको कार्यक्रमको सञ्चालन संघका अध्यक्ष रमेश तिवारीले गरेका थिए ।