विराटनगर ।

सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी–७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिएको छ । 

यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका–२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप–महानगरपालिका–१७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ ।  अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान–१४ का ३० बर्षीय महेशकुमार तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट–४ सय चक्कीसहित नियन्त्रणमा लिएको हो । 

त्यसैगरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप–महानगरपालिका–४ का ३८ बर्षीय हेमनारायण यादव र इटहरी–३ का २९ बर्षीय विजय लिम्बुलाई लागू औषध  SPASMO PROXYVON १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१८ का १८ बर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।