शनिश्चरे । 

झापाको अर्जुनधारा–९ स्थित खरबन्दीमा गत बुधबार घरपुजाको प्रसाद खाँदा फुड पोइजनिङ भै विभिन्न अस्पतालमा उपचार भैरहेका बिरामीहरुको अवस्थामा क्रमशः सुधार हुँदै आएको  छ । साथै डिस्चार्ज हुने क्रम पनि चलिरहेको बताइएको छ ।

झापाको अर्जुनधारा नगर अस्पताल, मेची प्रादेशिक अस्पताल, विएण्डसी र मनमोहन अस्पतालमा बिरामीहरुको उपचार भैरहेकोछ । पूजामा उपस्थित करिब ८० जना मध्ये ६० जना जतिलाई प्रसाद ग्रहण गरेपछि बान्ता आउने, झाडा पखाला लाग्ने भै अस्पताल भर्ना गरिएकोमा क्रमशः सुधार हुँदै गएको अर्जुनधारा वडा नं ९ का वडाध्यक्ष भिष्म मिश्रले जानकारी दिए ।

यसै बीच नेपाली कांग्रेसका झापाका कार्यबहाक सभापति केशवराज पाण्डे, कोशी प्रदेश सदस्य रन्जिता कार्की, ४ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,नगर सभापति हेमराज खरेल, नेवि संघका प्रतिनिधिहरु, नेका जिल्ला सदस्यहरु लगायतले विरामीहरुसँग प्रत्यक्ष भेटघाट गरी हौसला बढाउने कार्य गरिएको अध्यक्ष मिश्रले जानकारी दिए । बिरामीहरुको उपचारमा अर्जुनधारा नगरपालिकाले सहयोग पुर्याइरहेको जानकारी प्राप्त भएकोछ ।

नेका कोशी प्रदेश सदस्य रन्जिता कार्कीले आफ्नो फेसबुक मार्फत विरामीहरुको अवस्था बारे निरन्तर अपडेट गरिहेकी छिन् । आफ्नो नगरमा घटेको यो आकस्मिक दुःखद घटनाप्रति नेपाली कांग्रेस संवेदनशील भएको र बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको लागि निरन्तर सहयोग  पुर्याउने नगर सभापति खरेलले प्रतिवद्धता जनाएका छन् ।