झापा । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री  रवि लामिछानेको बयान लिइने भएको छ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज (शुक्रवार)  लामिछानेलाई बयान लिने भएको छ । 

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको  भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ ।  लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ । 

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर  बयान लिएको थियो । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए । 

सञ्चारकर्ममा हुँदा लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । 

उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर  गरेको आरोप लाग्दै आएको छ ।

रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो । गएको जेठ १५ गते  गठन गरिएको समितिले तीनमहिने कार्यावधि पाएको थियो ।