बिर्तामोड । 

चलचित्र वर एण्ड वधुले प्रमोशनल टुर झापाबाट शुरु गरेको छ । आउँदो भदौ १४ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्रको आज (बिहीवार)  बिर्तामोडमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।

पत्रकार अन्तरक्रियामा चलचित्रका कलकार आँचल शर्मा, किरण केसी र नवनायक विवेक कर्मचार्यसहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापा लगायतको उपस्थिति रहेको थियो ।

चलचित्र वर एण्ड वधुलाई नेपालसँगै रोमानिया, इटाली र फ्रान्सको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको निर्देशक चाम्सले बताए । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएको आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

नवनायक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए पनि वर एण्ड वधु मार्फत दर्शकहरुले आफ्नो अभिनयलाई रुचाउनुहुन्छ भन्नेमा विश्वास्त रहेको बताए। नायिका आचल शर्मा र हाँस्य कलकार किरण केसीले यो चलचित्रको कथा वस्तुसहित प्राविधिक पक्ष उत्कृष्ट रहेको बताए । चलचित्र युनिटले दर्शकहरुलाई एक पटक यो चलचित्र हेर्न अनुरोध पनि गरेको छ ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् । स्लाइस एण्ड स्पाइस क्याफेका सञ्चालक रजत साहेवालाले कलकारहरुलाई स्वागत गरेका थिए ।