बिर्तामोड । 

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामीले हालको पत्रकारिता बिज्ञापनमुखी भएको बताएका छन् । अध्यक्ष बलामीले पछिल्लो समय ८० प्रतिशत समाचार बिज्ञापनमुखी हुँदै गएको बताएका हुन् । 

चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आज (मंगलबार) बिर्तामोडमा भएको एकदिने ‘चलचित्र पत्रकारिता तालिम’ का प्रशिक्षकसमेत रहेका अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको बताएका छन् । 

पछिल्लो समय सामाजिक सञ्जाल पत्रकारिताको लागि चुनौती बन्दै गएको बताउँदै उनले पत्रकारिता गर्न प्रबिधिमा दक्षसँगै नयाँपन हुन आवश्यक रहेको बताएका छन् । अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको पहिले र अहिलेको अवस्थाका बारेमा जानकारी दिदै हाल अधिकांश मिडियाहरुले बिज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने गरेको बताए । तालिममा संघका केन्द्रिय अध्यक्ष बलामी र संघका पूर्व केन्द्रिय अध्यक्ष तथा बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले सहभागीलाई चलचित्र पत्रकारिताका बिषयमा प्रशिक्षण दिएका थिए । तालिममा झापाका ३८ वढी पत्रकारहरुको सहभागीता रहेको थियो । 

संघका झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । चलचित्र पत्रकारिता लेखन सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको संघका सचिव एकराज प्रधानले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, पत्रकार सुव्रत न्यौपाने, चलचित्रकर्मी संघका केन्द्रिय सदस्य मिजास पोखरेल, नेपाल चलचित्रकर्मी संघका कोशी प्रदेश अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत संघकी झापा सदस्य सुनिता तामाङले गरेको कार्यक्रमको सञ्चालन झापा सह–सचिव सुरज प्रधानले गरेका थिए ।