बिर्तामोड । 

झापाको बिर्तामोडमा नेपालका महजोडीका रुपमा परिचित बहुमुखी प्रतिभाशाली ब्यक्तित्व मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरिने भएको छ ।  पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोग तथा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा चैत ७ गते महजोडीलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान गर्न लागिएको हो । 

आयोजक संस्थाले सोमवार (आज) बिर्तामोडमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिएको छ । कलाकार श्रेष्ठ र आचार्यले नेपाली साहित्य, संगीत, कला साथै सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८० बाट सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष गोपालकुमार बस्नेतले पत्रकार सम्मेलनमा बताएका छन् । 

हास्याबिनोदी जोडीको उपनामले समेत परिचित श्रेष्ठ र आचार्यलाई दिवंगत ब्यक्तित्व टुङ्गबहादुर र उनकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण–टुङ्ग स्मृति कोष मार्फत एकलाख ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनीहरुलाई चैत ७ गते बिर्तामोडस्थित ग्रीन फिल्ड स्कुलको प्राराङ्गणमा सम्मान गर्न लागिएको हो । 

सभ्यता, संस्कृति, भाषा, साहित्यले कुनैपनि देशको पहिचान स्थापित गर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै त्यस्ता ब्यक्तित्वहरुको सम्मान तथा नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको साक्षात्कार कार्यक्रममा जानकारी गराइएको थियो । 

स्थापना कालमा प्रतिष्ठानको संयोजनमा झापाका एकसय वढी बिद्यार्थीलाई स्तरयुक्त र निःशुल्क शिक्षा प्रदान गर्दै आएको र क्षमतावान र शीपयुक्त बनाउन छात्रवृत्ति प्रदान गरिएको बताइएको छ । अवसर, संरक्षण र वाताबरणको अभावमा प्रतिभाहरु पलायन हुन सक्ने जोखिमका बिच प्रतिष्ठानले समाजमा उपस्थित ब्यक्ति, संस्था र उद्दार मन दाताहरुको सहयोग र सहभागीतामा प्रत्येक बर्ष प्रोत्साहन तथा सम्मानका साथ बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जनाइएको छ । 

साक्षात्कार कार्यक्रममा कोषका संरक्षक गोपालकुमार बस्नेत, श्याम बस्नेत र जितेन्द्र बस्नेतकोसमेत आतिथ्य रहेको थियो । कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष राजकुमार पोखरेल, सह–सचिव स्वातिका आचार्य, मदनगोपाल सुब्वा, बिर्तामोड उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपाने, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, बीरु दर्नाल, पार्वता बिमली खरेललगायतको उपस्थिति रहेको थियो । साक्षात्कार कार्यक्रमको सहजीकरण संस्थाका सचिव लक्ष्मण ढकालले गरेका थिए ।