बिर्तामोड । 

झापाको बिर्तामोडमा पहिलो पटक ‘महाकमेडी महाजात्रा’ हुने भएको छ । नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको हो । गत बुधवार बिर्तामोडमा ‘महाकमेडी महाजात्रा’ गरिन लागेको शनिवार बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी दिइएको छ । 

गत फागुन २१ गते पोखराबाट शुरु भएको ‘महाकमेडी यात्रा’  पहिलो चरणमा फागुन २२ गते बुटवल, २५ गते धनगढी ‘महाकमेडी महाजात्रा’ भइसकेको छ भने दोस्रो चरण फागुन ३० गते (आज) विर्तामोडबाट सुरू भएर चैत १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ ।  फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न शहरमा पुगेर दर्शक भेटघाट गर्न लागिएको बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा बताइएको छ । 

दर्शकसँग साक्षात्कार गरेर रियालिटी शो गर्न लागिएको बिशाल भण्डारी, सुमन कार्की र कैलाश कार्कीले जानकारी दिए । निर्माता म्याक्स दीपेश खत्री रहेको फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसमेत भ्रमणमा रहने बताइएको छ । 

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् । नेपालसँगै फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताइएको छ ।