गोलधाप। 

झापाको बाह्रदशी–५ स्थित गोलधापमा शहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ गते आयोजना गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रमको तयारी पुरा गरेको छ ।  प्रतिष्ठानले शनिबार (आज)  कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जनाएको हो  । 

बरिष्ठ जनवादी गायक राजन राईको उपस्थितिमा सांगितिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छन् । 

बामपन्थी पृष्ठभूमिका प्रजापति सापकोटालाई २०४३ सालको तिहारमा जनवादी देउसी भैलो खेल्ने क्रममा पञ्चायती व्यबस्थाका समर्थकले हत्या गरेका थिए । उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरेर जनवादी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जनबादी गायक राईको आठ वटा जनवादी गीत साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । 

प्रतिस्ठानका अध्यक्ष सापकोटाले प्रचार प्रसारलाई व्यापक बनाएको जानकारी दिए । उनले कार्यक्रममा १० हजार भन्दा बढी दर्शक स्रोता उपस्थित हुने अपेक्षा गरिएको बताए । गणतन्त्र बिरोधी गतिविधि बढ्दै गएको समयमा यो व्यवस्था स्थापनाका लागि ज्यानको आहुति दिएका सापकोटाको योगदानलाई अझ व्यापक बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सोही अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिने प्रतिस्ठानले जनाएको छ । 

नेकपा एमालेका सचिव योगेश भटराईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, एकीकृत नेकपा समाजवादीका केन्द्रीय सदस्य पुष्प पोखरेललगायतका बनमपन्थी नेताहरुको पनि आतिथ्य रहने जनाइएको छ । 

anil

जनवादी संस्कृतिलाई जनसाधारणले बिर्सिन लागेको अनुभूति भएकाले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सह–सचिव अनिल सापकोटाले बताए । उनले कार्यक्रम सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।  निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न सकिने छ । 

’शिरैमा मेरो, शिरैको टोपी, ’कान थापेर सुनिदेउ दाजु’ लगायतका कालजयी जनवादी गितका सर्जक राई हुन् । स्थानीय कलाकारहरु अनिल सापकोटा, गोपाल योङहाङ, मेदनी शिवाकोटी, अम्बिका अधिकारीले पनि सांगीतिक प्रस्तुति राख्ने बताइएको छ । कार्यक्रमको पूर्वसन्ध्यामा गोलधाप बजार सरसफाई पनि गरिएको थियो । 

५१ औं सुखानी शहिद दिवसको सम्झनामा आयोजना गरिएको कार्यक्रममा सुखानी हत्याकाण्डका शहिदहरुसहित प्रजापति सापकोटाको प्रतिमामा माल्यपण गरी कार्यक्रम उद्घाटन हुने अध्यक्ष सापकोटाले जानकारी दिए । 

प्रतिष्ठानका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रतिष्ठानका सचिव रुद्रप्रसाद सेडाईले गरेका थिए । कार्यक्रममा सहिद प्रजापतिका छोरा बिरेन्द्र सापकोटा, कोषाध्यक्ष कमला सापकोटा, बाह्रदशी गाउँपािलकाका योजना अधिकृत तेजप्रसाद रेग्मी, समाजसेवी बेदराज रेग्मीलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।